पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलवार राति करिब ९ः ३० बजे अन्दाजी ३० वर्षका युवक उक्त पोखरीमा हाम फालेका थिए ।
उनी बुधबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी औरैयाको संयुक्त टोली घटनास्थल पुगेर रातभर खोजतलास गरेको थियो।
प्रवक्ता गौतमका अनुसार मृतक भारतको बिहारस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेका छन्।
वजिरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।