एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ, ८ करोड ७८ लाख रुपैयाँ अपचलनको आरोप
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरी व्यक्तिगत लाभ लिएको आरोपमा उनलाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार विद्यालयको कार्यकारी प्रमुख रहँदा शेर्पाले विभिन्न प्रपञ्च अपनाएर विद्यालयलाई आर्थिक हानि पुर्याएका थिए। अनुसन्धानका क्रममा उनले भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बिक्री गराएको, विद्यालयका लागि छुट्याइएको रकमबाट आफ्नै कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गरेको तथा विद्यालयको सम्पत्तिमा हक टुटाएको खुलेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा दुई वर्षअघि नै उजुरी परे पनि दर्ता नभएको थियो। अदालतको आदेशपछि सीआईबीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको र सोही क्रममा शेर्पालाई पक्राउ गरिएको हो।