डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४–१ गोलले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
शनिबार बिहान भएको खेलमा फ्रान्सका ओस्मान डेम्बेलेले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। उनले खेलको ७औँ, २०औँ र ३२औँ मिनेटमा गोल गरे भने इन्जुरी समयमा डेसिरे डुएले अर्को गोल थपे। नर्वेका थेलो आसगार्डले २१औँ मिनेटमा एक गोल फर्काएका थिए।
जितसँगै फ्रान्सले तीन खेलबाट ९ अंक जोड्दै समूह विजेता बन्यो। पराजित भए पनि ६ अंकसहित नर्वे उपविजेताका रूपमा अन्तिम १६ मा पुगेको छ। दुवै टोली समूह चरणको अन्तिम खेलअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए।