चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
चितवन — चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आहारा प्रजातिको अवस्था अध्ययन गर्न जेठ १ गतेदेखि सर्वेक्षण सुरु गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० वटा ट्रान्जिट बनाएर सर्वेक्षण भइरहेको छ।
बाघका प्रमुख आहारा प्रजातिमा जरायो, चितल, लगुना, रतुवा, गौरीगाई, बँदेल, निलगाई र बाँदर पर्छन्। सर्वेक्षण सम्पन्न भएपछि धुरी छनोट विधिबाट आहारा प्रजातिको संख्या निर्धारण गरिने निकुञ्जले जनाएको छ।
निकुञ्जका अनुसार अध्ययनको नतिजाले बाघका लागि आवश्यक आहारा प्रजातिको संरक्षण र व्यवस्थापनका लागि आवश्यक योजना बनाउन सहयोग पुर्याउनेछ।