काभ्रेमा सार्वजनिकस्थल नजिक सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा कडाइ
काभ्रेपलाञ्चोक — सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन रोक्न काभ्रेपलाञ्चोकका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ।
जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायत सार्वजनिकस्थलको १०० मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन रोक्न स्थानीय तहलाई निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न जिल्लाका १३ वटै स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ।
यसैबीच, बेथानचोक गाउँपालिकाले पनि सार्वजनिक तथा संवेदनशील क्षेत्र वरिपरि सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने निर्णय गर्दै उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।