गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार चोखाल घाँस काट्न नजिकैको हरियाली सामुदायिक वन गएका थिए। घर नफर्किएपछि परिवार तथा स्थानीयवासीले खोजी गरेका थिए।
खोजीका क्रममा आज राप्ती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनको खुट्टामा गोहीले आक्रमण गरेको जस्तो देखिएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राप्ती नदी आसपासका क्षेत्रमा गोहीको जोखिम रहने भएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।