होर्मुज वरपर फसेका जहाजका चालकदल उद्धार गर्ने योजना: आईएमओ
अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले होर्मुज जलमार्ग र वरपर फसेका जहाज तथा चालकदललाई सुरक्षित रूपमा बाहिर निकाल्ने नयाँ निकासी योजना लागू गरिएको जनाएको छ।
आईएमओका महासचिव आर्सेनियो डोमिंगेजका अनुसार आगामी केही हप्ताभित्र अधिकांश जहाजहरू खाली गरिने अपेक्षा गरिएको छ। उनका अनुसार करिब ६०० जहाजमा रहेका झण्डै ११ हजार चालकदल सदस्यहरूको सुरक्षित निकासीलाई प्राथमिकता दिइएको छ।
संयुक्त राष्ट्रसंघीय समुद्री निकाय आईएमओले क्षेत्रीय देशहरू र सम्बन्धित उद्योगसँगको समन्वयमा सञ्चालन गरिएको यस अभियानले प्रभावित चालकदलको उद्धारलाई सहज बनाउने जनाएको छ। निकासी कार्य दैनिक रूपमा अघि बढिरहेको र जहाजहरूलाई चरणबद्ध रूपमा समूहबद्ध गरी सुरक्षित मार्गबाट बाहिर निकालिने बताइएको छ।
पर्सियन खाडी र ओमानको खाडी जोड्ने होर्मुज जलमार्ग विश्वको प्रमुख ऊर्जा ढुवानी मार्ग मानिन्छ। पछिल्लो संकटका कारण यस क्षेत्रमा २० हजारभन्दा बढी चालकदल प्रभावित भएको र केही आक्रमणका घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको जनाइएको छ।
आईएमओका अनुसार जहाजहरूको अवस्था, स्थान र जोखिम मूल्याङ्कनका आधारमा निकासी प्रक्रिया सञ्चालन भइरहेको छ। सुरक्षित आवागमनका लागि होल्डिङ क्षेत्र तोकिएको र आवश्यक सुरक्षा ग्यारेन्टीका साथ जलमार्ग सञ्चालनमा ल्याइँदैछ।
महासचिव डोमिंगेजले संकटले समुद्री यातायातमा काम गर्ने चालकदलको जोखिम उजागर गरेको उल्लेख गर्दै कुनै पनि भूराजनीतिक द्वन्द्वमा व्यापारिक ढुवानीलाई प्रभावित पार्नु हुँदैन भन्ने धारणा व्यक्त गरेका छन्।