प्यालेस्टिनी बालबालिका असुरक्षित रहेको संयुक्त राष्ट्र समितिको चेतावनी
संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी समितिले गाजा र वेस्ट ब्यांक लगायत कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा काम गर्ने मानव अधिकारवादी तथा मानवीय संस्थाहरू आफ्नो सेवा रोक्न वा घटाउन बाध्य भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
समितिका अनुसार यस अवस्थाले प्यालेस्टिनी बालबालिकाहरूलाई असुरक्षा, दुर्व्यवहार र अधिकार उल्लङ्घनको उच्च जोखिममा पारेको छ।
विज्ञप्तिमा इजरायलले मानव अधिकार रक्षक तथा नागरिक समाजका संस्थाहरूलाई “आतङ्ककारी” भनेर आरोप लगाउने, साथै उनीहरूविरुद्ध विभिन्न दमनकारी उपाय अपनाउने रणनीतिको कडा शब्दमा निन्दा गरिएको छ।
समितिका अनुसार सैन्य छापा, यात्रा प्रतिबन्ध, वित्तीय अवरोध, गिरफ्तारीको धम्की तथा साझेदार संस्थामाथि दबाबजस्ता कारणले मानवीय सहायता र बाल संरक्षणका कार्यक्रम सञ्चालन गर्न कठिन भएको छ।
तीन दशकभन्दा बढी समयदेखि प्यालेस्टिनी बालबालिकाको अधिकार र सुरक्षामा काम गर्दै आएका संस्थाहरूको भूमिका बिना बालबालिकाको अधिकार उल्लङ्घन दण्डहीन रूपमा जारी रहने जोखिम उच्च हुने चेतावनी पनि समितिले दिएको छ।
समितिले इजरायललाई गाजा र वेस्ट ब्यांकमा बाल अधिकार रक्षक तथा मानवीय संस्थाहरूले सामना गरिरहेका सबै प्रतिबन्ध र अवरोध तुरुन्त हटाउन आग्रह गरेको छ।
साथै, अन्तर्राष्ट्रिय समुदायलाई पनि प्यालेस्टिनी मानव अधिकार रक्षकहरूमाथि भएका आक्रमणका लागि जवाफदेहीता सुनिश्चित गर्न र बालबालिकाको अधिकार र जीवनलाई प्राथमिकता दिन सबै उपाय प्रयोग गर्न आह्वान गरिएको छ।