सभामुख अर्यालको गुनासो : ‘संवादका लागि बोलाएँ, विपक्षीबाट समय पाइएन’
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफूले पटक–पटक संवादको पहल गरे पनि विपक्षी दलबाट अपेक्षित सहयोग नपाएको बताएका छन्।
सोमबार विपक्षी दलका सांसदहरूले सदनको कामकारबाही अवरुद्ध गरेपछि सभामुख अर्यालले समस्या समाधानका लागि निरन्तर संवादको प्रयास गरेको उल्लेख गर्दै विपक्षी दलका सदस्यहरूलाई छलफलका लागि बोलाउँदा पनि पर्याप्त समय नपाएको बताए।
उनले सभामुखको भूमिकाबाट संवादलाई सधैं प्राथमिकता दिएको भए पनि विपक्षी पक्षबाट बेवास्ता भएपछि संसद्को कामकारबाही प्रक्रिया अनुसार अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको धारणा राखे।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया संविधान र नियमावलीअनुसार नै अगाडि बढाइएको स्पष्ट पारे। विधेयकमा दर्ता भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने जिम्मेवारी मात्र सभामुखको हुने र तिनलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार सांसदहरूकै रहेको उनको भनाइ थियो।
आफूले कुनै पनि नियम वा संसदीय प्रक्रिया नमिचेको दाबी गर्दै अर्यालले संसद्मा विरोधको प्रतिस्पर्धाभन्दा देश, राष्ट्र, राष्ट्रियता तथा जनताको जनजीविकाका मुद्दामा प्रतिस्पर्धा गर्न दलहरूलाई आग्रह गरे।
संसद्मा जारी अवरोध र राजनीतिक तकरारबीच सभामुखको यो अभिव्यक्तिलाई सदन सञ्चालन र सहमति निर्माणको प्रयासका रूपमा हेरिएको छ।