संविधान संशोधन बहसप्रति सांसद अमरेशकुमार सिंहको आपत्ति, व्यवस्था नै संकटमा परेको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले सरकारले अघि बढाएको संविधान संशोधनसम्बन्धी तयारीप्रति आपत्ति जनाएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक तथा प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।
सिंहले २०७२ असोज ३ गते जारी संविधान संशोधनयोग्य नभएको दाबी गर्दै यसमा कुनै त्रुटि नरहेको टिप्पणी गरे। अहिले भइरहेको संविधान संशोधनको बहस नै गलत दिशामा अघि बढेको उनको भनाइ थियो।
“यो संविधान संशोधन हुनेवाला छैन। बरु व्यवस्था नै संकटमा परिसकेको छ,” उनले भने, “लोकतन्त्र जोगाउन पहिले व्यवस्था बचाउने छलफल आवश्यक छ।”
उनले संविधान संशोधनको नाममा जनताको ध्यान मूल मुद्दाबाट मोड्ने प्रयास भइरहेको आरोपसमेत लगाए। साथै, वर्तमान राजनीतिक नेतृत्व र संघीय संरचनाको भूमिकामाथि पनि उनले प्रश्न उठाए।
सिंहले अहिलेको संविधान कार्यान्वयनमा समस्या नभई राजनीतिक नेतृत्वमा समस्या रहेको टिप्पणी गर्दै व्यवस्था र लोकतन्त्र दुवै जोखिममा रहेको दाबी गरे।