झुटा कागजातमा छोरीलाई नागरिकता दिलाएको आरोप, वीरगञ्ज मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा कागजातका आधारमा छोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मेयर सिंहसँगै सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
यस्तै, नागरिकता प्रकरणको छानबिन गर्न गठित समितिका संयोजक तथा तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार नागरिकता प्राप्तिको प्रक्रियामा झुटा विवरण र कागजात प्रयोग भएको आरोपमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।
मेयर सिंह यसअघि सोही प्रकरणमा पक्राउ परेका थिए। उनी धरौटीमा रिहा भएका छन्। भ्रष्टाचारको आरोपमा मुद्दा खेप्ने उनी वीरगञ्ज महानगरपालिकाका पहिलो निर्वाचित मेयर बनेका छन्।