सुकुम्वासी र विपन्न परिवारका लागि पोखरा–१२ को निःशुल्क जीवन बिमा
पोखरा — पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून आय भएका परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ।
वडाले आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका ४४ परिवारको लिवर्टी माइक्रो इन्स्योरेन्स मा निःशुल्क जीवन बिमा गरिदिएको जनाएको छ। दैनिक जीविकोपार्जनमै संघर्ष गरिरहेका परिवारलाई दुर्घटना, बिरामी वा मृत्युजस्ता आकस्मिक जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।
वडाध्यक्ष सन्तोष बास्तोला ले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत कार्यक्रम ल्याइएको बताए। उनका अनुसार विपन्न परिवारलाई न्यूनतम आर्थिक सुरक्षा उपलब्ध गराउने उद्देश्यले जीवन बिमा कार्यक्रम सञ्चालन गरिएको हो।
म्यादी जीवन बिमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक २५० रुपैयाँ बिमा शुल्कमा एक लाख रुपैयाँसम्म उपचार सुविधा तथा बीमित व्यक्तिको मृत्यु भएमा परिवारले एक लाख ५० हजार रुपैयाँसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था छ।
यस कार्यक्रमका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। वडा सदस्य शान्ति कोइराला ले न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिन्।
वडाले बिमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। वडाध्यक्ष बास्तोलाले यस्ता कार्यक्रमले बिमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षाकवच प्रदान गर्ने भएकाले अन्य वडालाई पनि यस्ता पहल गर्न प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरे।