२५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
प्रहरीले भारतबाट तस्करी गरी भित्र्याइएका २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद गरेको छ । सशस्त्र प्रहरी बलले भारतबाट ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर १ शिवनगरबाट ३३० थान युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र डिएसपी यज्ञमान साउदको टोलीले सो यौनवर्धन औषधि बरामद गरेको हो । उक्त औषधिको बजार मूल्य २४ लाख ७५ हजार रहेको जनाइएको छ ।
बरामद औषधि कृष्णनगर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल २८ हेडक्वार्टर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए ।
सो औषधि यौन उत्तेजनाका लागि प्रयोग गरिने स्वास्थ्यकर्मी बताउँछन् । नेपालमा औषधि तथा सर्जिकल सामग्रीको कर बढेसँगै सीमा क्षेत्रबाट चोरी तस्करी तथा अवैध ओसारपसार बढेको हो । सम्भावित चोरी तस्करी निरुत्साहन गर्न सीमा क्षेत्रमा नियमित गस्ती तथा कडाई गरिएको अधिकारीले बताए ।