मधेसमा अत्यधिक गर्मी, ‘लु’को जोखिमबारे चेतावनी
जनकपुर — दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ। पछिल्लो एक सातादेखि अधिकांश स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि ‘लु’ फैलिन सक्ने जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ।
कार्यालयका अनुसार अत्यधिक गर्मीका कारण थकान, कमजोरी, तिर्खा लाग्ने, बेहोस हुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले ‘लु’बाट बच्न घाममा ननिस्कन, घरभित्र वा चिसो ठाउँमा बस्न, हलुका कपडा लगाउन तथा टाउको ढाकेर मात्र बाहिर निस्कन सुझाव दिएका छन्। साथै उनले दिनमा पर्याप्त पानी र झोल पदार्थ पिउनुपर्नेमा जोड दिएका छन्।
मौसम कार्यालयका प्रमुख राजीव झाले यस वर्ष समयमा मनसुनी वर्षा हुने सम्भावना कम देखिएको जानकारी दिएका छन्। जेठ १८ देखि असोज १३ सम्म मनसुनी अवधि भए पनि हालसम्म उखरमाउलो गर्मी कायमै रहेको उनले बताएका छन्।
अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जीवन कष्टकर बनेको छ भने सहरी क्षेत्रमा दिनको समयमा चहलपहल पनि उल्लेख्य रूपमा घटेको छ।
विशेषज्ञहरूले पानीको कमीले डिहाइड्रेसन, एलर्जी तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्।