मनसुनजन्य विपद् प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्र प्रहरीका अस्थायी वेश स्थापना
काठमाडौं, असार ११ — सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि देशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ। विपद्को उच्च जोखिम रहेका तथा नियमित कार्यालयबाट उद्धार टोली परिचालन गर्न समय लाग्ने क्षेत्रको पहिचान गरी अस्थायी वेश स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार कोशी प्रदेशमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा अस्थायी वेश स्थापना गरिएका छन्।
यसका साथै हिमाल, पहाड र तराईका १६ स्थानमा स्थायी विपद् व्यवस्थापन वेश सञ्चालनमा छन्। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थापना गरिएका यी वेशमा आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी विपद् प्रतिकार्यको योजना बनाइएको बताए। उनका अनुसार यस वर्षको मनसुनजन्य विपद्सँग जुध्न ८ हजार १८० सशस्त्र प्रहरी कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। साथै असार मसान्तभित्र सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष सरदरभन्दा कम वर्षा हुने अनुमान गरे पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८८६ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ।
प्राधिकरणका अनुसार कोशीमा ३८ हजार ७३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिममा ३३ हजार २२७ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
बाढी तथा डुबानबाट प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरीसँग ८२ वटा उद्धार डुङ्गा, ५३ वटा मोटरचालित डुङ्गा, ४ हजार ७१० जना विशेष तालिमप्राप्त उद्धारकर्मी तथा १३४ जना गोताखोर तयारी अवस्थामा छन्। ती जनशक्ति र उपकरणलाई देशभरका ११ जोखिमयुक्त स्थानमा परिचालनका लागि राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, विपद्सम्बन्धी सूचना छिटो प्राप्त गर्न सशस्त्र प्रहरीले देशभर १ लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल निर्माण गरेको छ। ती सूचकहरूले आफ्नो क्षेत्रमा कुनै विपद् घटना भएमा तत्काल नजिकको सशस्त्र प्रहरी इकाइलाई जानकारी गराउने व्यवस्था गरिएको छ।
विपद्का बेला सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमार्फत प्राप्त सूचनाका आधारमा सम्बन्धित परिचालन कक्षले तत्काल उद्धार टोली परिचालन गर्न सक्ने व्यवस्था मिलाइएको छ।