ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार ५ सय ९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १७ लाख ८६ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १ सय ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय २० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ६८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय २०, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय ५६, एकतर्फी सडकमा सवारी चलाउने १ सय ८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३ सय ५६ जनालाई कारबाही गरिएको हो ।