२४ घण्टामा २६ विपद्का घटना, चार जनाको मृत्यु
काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर २६ वटा विपद्जन्य घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनाबाट २० लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट र नवलपरासी (पूर्व) मा सर्पदंशका कारण दुई महिलाको मृत्यु भएको छ। झापामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ भने मोरङमा छाडा साँढेको आक्रमणबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ।
सुनसरी, भोजपुर र बागलुङमा सर्पदंशका घटनामा तीन जना घाइते भएका छन्। कैलालीमा ग्यास चुहावटपछि आगलागी हुँदा एक पुरुष घाइते भएका छन्।
यस्तै, संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। ताप्लेजुङमा बाढीले निर्माण सामग्री र पुल बगाउँदा क्षति पुगेको छ भने आगलागीबाट लाखौं रुपैयाँ बराबरको नोक्सानी भएको छ।
प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।