पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नु जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार यात्रु बोकेको निजी पिकअप ट्रकलाई सडक किनारमा राखिएको रिमोट–कन्ट्रोल इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) मार्फत लक्षित गरी पहिलो विस्फोट गराइएको थियो। त्यसपछि घाइतेहरूको उद्धारका लागि पुगेको अर्को सवारीसाधनमा दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको हो।
घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले नलिए पनि सुरक्षा निकायले उक्त क्षेत्रमा सक्रिय रहेको तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) माथि आशंका गरेको छ।
पाकिस्तानले पछिल्ला वर्षहरूमा भएका अधिकांश आतङ्कवादी आक्रमणका लागि अफगानिस्तानको भूमिबाट सञ्चालन हुने समूहहरूलाई जिम्मेवार ठहर गर्दै आएको छ। तर, अफगानिस्तानको तालिबान सरकारले आफ्नो भूमि कुनै पनि आतङ्कवादी गतिविधिका लागि प्रयोग हुन नदिएको बताउँदै यस्ता आरोप अस्वीकार गर्दै आएको छ।
सीमापार सुरक्षा चुनौती र हिंसात्मक घटनाका कारण पछिल्ला महिनाहरूमा पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ।