नेपालको फराकिलो जित, मलेसियालाई १६७ रनले पराजित
काठमाडौं — एशियाली खेलकुद छनौट प्रतियोगितामा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै सीमित भयो।
मलेसियाका कप्तान सइद अजीजले ४५ बलमा ५४ रन बनाए। शरविन मुनियान्दीले १८ रन र मुहम्मद हजिक अइमानले १३ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि बलिङमा शेर मल्लले ३ विकेट लिए। कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान १–१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल स्कोर खडा गरेको थियो।
नेपालका कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १२६ रन बनाए, जसमा १४ चौका र ८ छक्का समावेश थिए। आशिफ शेखले २४ बलमा ६८ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रनको योगदान दिए।
मलेसियाका बलर विरानदीप सिंहले ३ विकेट लिए भने सइन अजीज र विजय उन्नीले २–२ विकेट हात पारे।