गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर
विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवलाई दोषी ठहर गरेको छ ।
शेष अदालत काठमाडौँका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो ।
अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ । साथै स्रोत नखुलेको बिगो बराबरको उनको घर तथा जग्गा लगायतका सम्पत्तिहरू जफत हुने फैसलामा उल्लेख छ । यादवले अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा ४ लाख ५० हजार ८ सय २६ रुपैयाँ दाखिला गर्नुपर्ने छ ।
अदालतले यादवको जाँच अवधि (मिति २०६३/०५/०८ देखि २०८१/०३/३० सम्म) को समग्र आय र व्ययको विश्लेषण गरेको थियो । सो अवधिमा यादवको वैध आय ४ करोड २५ लाख ९२ हजार ९ सय ५१ रुपैयाँ ३० पैसा देखिएको छ भने उनको खर्च र लगानी (व्यय) ५ करोड ३८ लाख ६३ हजार ६ सय १९ रुपैयाँ ९२ पैसा पुगेको देखिएको छ । यसरी उनको वैध आयको तुलनामा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको अदालतको ठहर छ ।