कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त
विराटनगर — कोशी प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम बहादुर सुब्बा फुदोङ र विराटनगरकी रुपा थापा ओझा नियुक्त भएका छन्।
प्रदेश लोकसेवा आयोग ऐन २०७६ अनुसार मुख्यमन्त्री, प्रदेश सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ ले उनीहरूलाई नियुक्त गरेका हुन्।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुरागाईं ले नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभामुख अम्बर बहादुर विष्ट लगायत राजनीतिक दलका नेता, मन्त्री, सांसद र उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
पूर्व सदस्यहरूको ६ वर्षे कार्यकाल समाप्त भएपछि नयाँ नियुक्ति गरिएको हो।