राजनीतिक दलनिकट २० कर्मचारी दुर्गममा सरुवा, कर्मचारी संगठनको विरोध
काठमाडौं, १३ जेठ — सरकारले विभिन्न राजनीतिक दलनिकट ट्रेड युनियनमा आबद्ध २० कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयहरूमा खटाइने गरी नामावली पठाएको थियो। त्यसपछि गृह मन्त्रालयले सम्बन्धित कर्मचारीलाई आफू मातहतका विभिन्न कार्यालयमा पदस्थापन गरेको हो।
सरुवा गरिएका सबै कर्मचारी नायब सुब्बा (ना.सु.) सरहका रहेका छन्। कर्मचारी संगठनहरूले भने यो निर्णयलाई “प्रतिशोधपूर्ण” भन्दै विरोध जनाएका छन्।
कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवाल ले आफ्नो संगठनका ६ जना कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाइएको बताएका छन्। उनले अदालतको अन्तरिम आदेशको बेवास्ता गर्दै सरकारले सरुवा गरेको आरोप लगाए।
उनले भने,
“सरकारले अदालतको अन्तरिम आदेशको बेवास्ता गरेर प्रतिशोधपूर्ण तरिकाले सरुवा गरेको छ। यसबारे हामी छलफल गरेर निर्णय गर्छौं।”
सरुवा हुनेमध्ये एमाले निकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारी लगायत अन्य पदाधिकारीहरू पनि रहेका छन्।
कर्मचारी संगठनहरूले सरुवाको निर्णयविरुद्ध थप आन्दोलन वा कानुनी प्रक्रिया अघि बढाउने संकेत दिएका छन्।