सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सर्लाही — सर्लाहीको रामनगरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बरहथवाबाट मधुवनीतर्फ जाँदै गरेको ज ७ प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा दुर्घटना भएको हो।
दुर्घटनामा भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिएका छन्। उनी मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार २३ वर्षीय उज्ज्वल पटेल गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि भारतको सीतामढीमा लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।