सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु, सेवा प्रवाह सुधार्ने लक्ष्य
काठमाडौँ — सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित आजदेखि देशभरका सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरिएको छ। अभियानको औपचारिक सुरुवात स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पताल बाट गरेकी हुन्।
सरकारले यो अभियान जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सञ्चालन गर्ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनमार्फत सबै सरकारी निकायलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिइएको छ।
‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गरिनेछ। कार्यालयको वातावरण सुधार गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
मार्गदर्शनमा सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिह्नहरू स्पष्ट र व्यवस्थित हुनुपर्ने उल्लेख छ। साथै, भित्ताहरूको मर्मत तथा रङरोगन, मुख्य सेवा क्षेत्र र प्रवेशद्वारको सरसफाइ तथा आकर्षक व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।
शौचालयहरूलाई दुर्गन्धरहित राख्ने, नियमित पानी आपूर्ति सुनिश्चित गर्ने र हात धुने स्थानमा साबुन अनिवार्य गर्ने व्यवस्था गरिएको छ। दैनिक सफाइको अभिलेख राख्नुपर्ने तथा शौचालयहरू महिलामैत्री, ‘स्यानिटरी डिस्पोजल’ सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री हुनुपर्ने प्रावधान पनि समावेश गरिएको छ।
फोहोर व्यवस्थापनका लागि कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने व्यवस्था गरिएको छ। साथै, खुला रूपमा फोहोर जलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी, कार्यालय परिसर वरिपरिको क्षेत्र, नाली र ढल सरसफाइ, पार्किङ व्यवस्थापन तथा अव्यवस्थित तार र पोस्टर हटाउने कार्यलाई पनि अभियानमा समेटिएको छ। सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन ‘हेल्प डेस्क’ स्थापना तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ।
सरकारले यो अभियानले कार्यालयको वातावरण सुधारसँगै सेवा प्रवाह र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ।