नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बढ्यो, प्रतिहजारमा १.८६ चिकित्सक
काठमाडौं, १३ जेठ — नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढेको देखिएको हो।
बुधबार सार्वजनिक गरिएको सर्वेक्षणअनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिल मा दर्ता भएका स्वास्थ्यकर्मीका आधारमा प्रतिहजार जनसंख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स रहेका छन्।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रतिहजार जनसंख्यामा १.१ चिकित्सक र २.८६ नर्स मात्र रहेका थिए।
सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार स्वास्थ्य सेवामा जनशक्तिको विस्तारसँगै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवामा नागरिकको पहुँच पनि क्रमशः सुधार हुँदै गएको उल्लेख गरिएको छ।
आर्थिक सर्वेक्षणले २०८२ फागुनसम्म सरकारी सेवामा डाक्टर, नर्स, अनमी, वैद्य, स्वास्थ्य सहायक तथा महिला स्वास्थ्य स्वयंसेविकासहित कुल १ लाख ४ हजार ७५६ स्वास्थ्य जनशक्ति कार्यरत रहेको जनाएको छ।