नयाँ संसद् भवन नसकिएपछि पुरानै हलबाट बजेट प्रस्तुत गर्ने तयारी
काठमाडौं, १३ जेठ — संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्षको बजेट पुरानै संसद् भवनको बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्ने तयारी गरेको छ। निर्माणाधीन नयाँ संसद् भवनको काम पूरा नभएकाले यसपटक पनि हाल प्रयोगमै रहेको हलबाट संयुक्त बैठक बस्ने तयारी गरिएको हो।
बजेट प्रस्तुत गर्नुअघि गरिने पूर्वाभ्यास (रिहर्सल) पनि बिहीबार सोही हलमै गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी ले नयाँ भवनमा आवश्यक फिनिसिङ तथा अन्तिम तयारी पूरा नभएकाले पुरानै हल प्रयोग गर्नुपर्ने अवस्था आएको जानकारी दिए।
उनका अनुसार,
“नयाँ संसद् भवनको हलमा १५ जेठमा संयुक्त बैठक बस्ने र त्यहीँबाट बजेट प्रस्तुत गर्ने तयारी हुन नसकेको सन्दर्भमा हालकै बहुउद्देश्यीय हल प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।”
नयाँ संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजना अन्तर्गत रहेको छ भने निर्माण ठेक्का तुन्दी–सेक जेभी ले पाएको हो।
२०७६ असोजमा करिब ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको भवनको निर्माण कार्य २०७९ असोजमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर पटक–पटक म्याद थपिँदै अहिले छ पटकसम्म म्याद विस्तार भइसकेको छ।
पछिल्लो पटक थपिएको ९० दिनको म्याद पनि यही जेठ महिनामा सकिन लागेको छ। यससँगै नयाँ संसद् भवन समयमै सम्पन्न हुन नसक्दा राज्यको महत्वपूर्ण कार्यक्रम पुरानै संरचनाबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको हो।