जेन–जी आन्दोलनमा फेक फेसबुक पेजमार्फत हिंसा भड्काउने प्रयास भएको निष्कर्ष
काठमाडौं, १३ जेठ — जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीको नक्कली (फेक) फेसबुक पेज बनाएर आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाउन खोजिएको निष्कर्ष सार्वजनिक भएको छ।
मानव अधिकारसम्बन्धी प्रतिवेदनअनुसार आन्दोलनअघि नै सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई विद्यालय पोशाकमै प्रदर्शनमा आउन आह्वान गरिएको पाइएको छ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार उक्त फेक पेजमार्फत “विद्यालय पोशाकमा आएमा प्रहरीले बल प्रयोग गर्न सक्दैन” भन्ने भ्रमपूर्ण सामग्री समेत फैलाइएको थियो। यसरी विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई ‘मानव ढाल’ का रूपमा प्रयोग गर्ने प्रयास भएको तथ्य सुरक्षा निकायका बयान र घटनापछिका विवरणबाट पुष्टि भएको प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनका अनुसार आन्दोलनसँग सम्बन्धित सामाजिक सञ्जाल खाताहरू घटनापछि निष्क्रिय बनाइएका थिए। तर ती गतिविधि सार्वजनिक रूपमा देखिँदा पनि सुरक्षा निकायले पर्याप्त निगरानी, तथ्य जाँच वा नियन्त्रणका कदम नचालेको भन्दै आलोचना गरिएको छ।
प्रतिवेदनले आन्दोलन हिंसात्मक हुन सक्ने संकेत (क्लु) सुरक्षा निकायसँग भए पनि सरकार र सुरक्षा संयन्त्रको पूर्वतयारी कमजोर रहेको निष्कर्ष निकालेको छ।
साथै, सामाजिक सञ्जालमार्फत फैलिएको गलत सूचना र त्यसको प्रभावको उचित मूल्यांकन हुन नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरिएको छ।