निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा स्थगित गर्ने बोर्डको निर्णय
काठमाडौं — सरकारले निजी अस्पतालमा प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार वित्तीय संकट गहिरिँदै गएपछि आकस्मिक सेवाबाहेक निजी स्वास्थ्य संस्थाबाट दिइँदै आएका सबै स्वास्थ्य बीमा सेवाहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएको हो।
बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी अस्पताल, मेडिकल कलेज लगायतका संस्थाबाट ओपीडी, परीक्षण, शल्यक्रिया तथा औषधि सेवा बन्द हुने उल्लेख गरिएको छ। आकस्मिक सेवा भने निरन्तर रहनेछ।
यस निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौं निजी अस्पताल प्रभावित हुने भएका छन्। बोर्डका अनुसार हाल सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
सरकारी स्वास्थ्य बीमा कार्यक्रम आर्थिक तथा प्रशासनिक समस्याका कारण संकटमा पुगेको भन्दै आलोचना भइरहेका बेला यो निर्णय आएको हो।