मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु, नेवारी कला र संस्कृतिको प्रदर्शनी
यल नेवा समाज ललितपुर को आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मंगलबजार मा सुरु भएको छ।
विश्वभर फैलिएका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएका छन्।
महोत्सवमा विशेषगरी पाटनका जातीय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्तरकला लगायत परम्परागत सीप र पहिचान प्रस्तुत गरिएको छ। साथै मौलिक नेवारी खाना तथा संस्कृतिको पनि प्रदर्शनी गरिएको आयोजकले जनाएको छ।
यल नेवा समाजका अध्यक्ष नानी काजी शाक्यका अनुसार यो महोत्सव व्यापार मेला नभई पाटनका जातीय समाजहरूको परम्परागत कला र सीपको प्रस्तुति हो।
महोत्सवमा बागमती प्रदेश सरकारले दिएको आदिवासी जनजातिसम्बन्धी अधिकारबारे गोष्ठी तथा नेवा लिपिको महत्वबारे जानकारीमूलक कार्यक्रम समेत आयोजना गरिएको छ।
ललितपुर महानगरपालिका वडा नं. १६ को प्रायोजनमा आयोजित महोत्सवमा पाटनका २१ जातीय समाजको सहभागिता रहेको आयोजकले जनाएको छ।