सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको समूह
काठमाडौं — चिनियाँ आरोही सी जुन्जी नेतृत्वको टोली यस याममा विश्वका दुई अग्ला हिमाल सगरमाथा र लोत्से सफल आरोहण गर्ने पहिलो टोली बनेको छ।
टोलीले गत मे १४ बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको थियो भने आज बिहान ११ः२५ बजे लोत्से पनि आरोहण गर्दै नयाँ उपलब्धि हासिल गरेको हो।
उक्त टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा सहभागी रहेका थिए। हिमालयन माउन्टेरियरिङ एक्सपिडिसन मार्फत आरोहण गरेको टोली सगरमाथाबाट क्याम्प–२ झरेपछि पुनः लोत्से चढ्न सफल भएको बताइएको छ।
एक्सपिडिसनका सञ्चालक उत्सव पाठक का अनुसार ८,८४८.८६ मिटर अग्लो सगरमाथा र ८,५१६ मिटर अग्लो लोत्से यस याममा सफलतापूर्वक आरोहण गर्ने यो पहिलो टोली हो।
यसैबीच, कामिरिता शेर्पा ले ३२औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएकी छन् भने लाक्पा शेर्पा ले ११औँ पटक सगरमाथा चढ्दै आफ्नै रेकर्ड तोडेकी छन्।