त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय अवरुद्ध भएपछि पुनः सञ्चालनमा
काठमाडौँ — टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा देखिएको प्राविधिक समस्यापछि केही समयका लागि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले पुनः सञ्चालनमा आएको छ।
इस्तानबुलबाट आज बिहान काठमाडौँ आइपुगेको टर्किस एयरलाइन्सको विमान अवतरणलगत्तै टायर विस्फोट भई आगलागीको घटना भएपछि विमानस्थलमा उडान र अवतरण अस्थायी रूपमा रोकिएको थियो।
विमानस्थल बन्द हुँदा विभिन्न अन्तर्राष्ट्रिय उडानहरू आकाशमै होल्ड हुनुपरेको थियो। एयर अरेबिया, फ्लाइ दुबई, एयर इन्डिया, कतार एयरवेज तथा नेपाल एयरलाइन्सका विमानहरू लामो समयसम्म आकाशमै परिक्रमा गरेका थिए।
विमानस्थल स्रोतका अनुसार अहिले समस्या समाधान भइसकेको छ र उडान तथा अवतरण नियमित रूपमा सञ्चालन भइरहेको छ।