पोखरामा जमिन भासिँदा घर र सडकमा क्षति, स्थानीय त्रसित
पोखरा मा मनसुन सुरु हुनुअघि नै विभिन्न स्थानमा जमिन भासिने समस्या देखिन थालेको छ।
शुक्रबार बिहान करिब २ बजेतिर नदीपुर क्षेत्रमा सडकसँगै रहेको एउटा घरको आँगन तथा घरको केही भाग भासिएको हो।
स्थानीयका अनुसार अचानक जमिन भासिँदा करिब १० मिटर गहिरो भ्वाङ परेको छ। घटनाका कारण खानेपानी वितरणका लागि बिछ्याइएको पाइप समेत फुटेको र जोखिम अझ बढेको उनीहरूको भनाइ छ।
उक्त क्षेत्रमा पटक–पटक जमिन भासिने समस्या देखिँदै आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
घटनास्थलको अवलोकन गर्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा ले थप क्षति र विपद् जोखिम बढ्न सक्ने भएकाले प्राविधिकसँग समन्वय गरी क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित जनप्रतिनिधिलाई सुझाव दिएकी छन्।