प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता आदेशपछि सर्वोच्च अदालतमा तनाव
काठमाडौं — प्रधानन्यायाधीश सिफारिससम्बन्धी रिट दरपीठविरुद्धका निवेदन दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालत मा सोमबार तनावपूर्ण अवस्था सिर्जना भएको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले प्रशासनबाट दरपीठ गरिएका निवेदन दर्ता गर्न निर्देशन दिएपछि सर्वोच्च प्रशासनका कर्मचारीहरू कार्यालय छाडेर बाहिरिएको जनाइएको छ। आदेशपछि अदालत प्रशासनका अधिकांश शाखा खाली देखिएका थिए।
कामु प्रधानन्यायाधीश मल्लले सोमबार दिउँसो १ बजेसम्म सबै निवेदन दर्ता गरी मंगलबार पेशीमा चढाउन निर्देशन दिएकी थिइन्। उक्त निवेदन डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद् को निर्णयविरुद्ध दायर गरिएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल लगायतले वरिष्ठता र स्थापित परम्पराविपरीत सिफारिस गरिएको भन्दै रिट दायर गरेका थिए। तर सर्वोच्च प्रशासनले प्रारम्भमा ती रिट दरपीठ गरेको थियो।
दरपीठविरुद्ध परेको निवेदन अब इजलासमा सुनुवाइ हुने भएको छ। घटनापछि कानुन व्यवसायीहरूले पनि सर्वोच्च प्रशासनको भूमिकाविरुद्ध विरोध जनाउने तयारी गरेका छन्।