२१ जिल्लामा हावाहुरीको चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका २१ जिल्लामा हावाहुरीको चेतावनी जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।
महाशाखाले शुक्रबार सामाजिक सञ्जालमार्फत जारी सूचनामा देशका तराई तथा भित्री मधेसका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। केही स्थानमा असिना पानी समेत पर्न सक्ने सम्भावना देखिएको विभागले जनाएको छ।
चेतावनी जारी गरिएका जिल्लामा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा रहेका छन्।
विभागका अनुसार तराई क्षेत्रमा सुन्तला रङको चेतावनी जारी गरिएको छ भने पहाडी तथा भित्री मधेस क्षेत्रका बासिन्दालाई मौसमबारे अद्यावधिक रहन आग्रह गरिएको छ।