देशका विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने बताइएको छ।
मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।