सर्लाहीमा इँटा उद्योगको पर्खाल खस्दा तीन मजदुरको मृत्यु, दुई घाइते
सर्लाहीको हरिपुर नगरपालिका–५ स्थित कृष्ण इँटा उद्योगमा पर्खाल (चाङ) खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ का ५० वर्षीय फिताई मन्सुर, गोडैता–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेका छन्।
इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा अचानक पर्खाल खसेर मजदुरहरू पुरिएका थिए।
प्रहरीले साँझ ६ः३० बजे उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ।
घाइते हुनेहरूमा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो रहेका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय मजुर्वा क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।