गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको सुशासन र समृद्धिमा जोड
रामचन्द्र पौडेल ले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र ऐतिहासिक अभिभारा भएको बताएका छन्।
शुक्रबार सैनिक मञ्च टुँडिखेल मा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशवासीलाई एकताबद्ध बनाएको, साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको तथा नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति दिलाएको उल्लेख गरे।
उनले गणतन्त्र केवल शासन व्यवस्था मात्र नभई राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उल्लेख गर्दै यसको मूल्य, मान्यता र नैतिक दायरालाई आत्मसात् गर्नुपर्ने बताए।
“गणतन्त्र फगत एउटा व्यवस्था मात्र होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो,” राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा जोगाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा परिवर्तन आवश्यक रहेको धारणा राखे। सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी अभ्यासमा अघि बढ्न गणतन्त्र दिवसले थप प्रेरणा दिएको उनको भनाइ थियो।
उनले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको उल्लेख गरे। सरकारले अघि सारेका एक सय शासकीय सुधार कार्यसूची कार्यान्वयन भएपछि जनतामा आशा र विश्वास बढ्ने उनले बताए।
राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ताको चरित्र, राजनीतिक संस्कार र शासकीय व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताए।
“आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति हुन्,” उनले भने।
उनले नागरिकले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संसारकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको दाबी गर्दै नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक समाजवादका मान्यतामार्फत यसलाई अझ उन्नत बनाएको बताए।
“यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ र राज्यशक्तिको स्रोत नागरिक नै हुन् भन्ने स्थापित गरेको छ,” उनले भने।
समारोहमा रामसहायप्रसाद यादव, बालेन शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।