दाङ, कास्की र ललितपुरमा जुवातास खेलिरहेका २७ जना पक्राउ
काठमाडौँ — प्रहरीले देशका विभिन्न स्थानमा गरेको जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार दाङ, कास्की र ललितपुरमा सञ्चालन गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई पक्राउ गरिएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका–१७ स्थित ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्तसहित ९ जनालाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ५० वर्षीय श्यामकुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्यामकुमारसहित ८ जनालाई प्रहरी प्रभाग इमाडोलले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।