देशभर वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी र हिमपात हुन सक्ने
काठमाडौं, जेठ १६ — जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेकाले मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। केही स्थानमा मध्यम वर्षासमेत भइरहेको छ।
आज दिउँसो देशका विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै, तराई र पहाडी क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा अन्य हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहनेछ।