भक्तपुरको प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनालाई हेमोडायलासिस सेवा
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना बिरामीले हेमोडायलासिस सेवा लिएका छन्।
केन्द्रले सार्वजनिक गरेको वैशाख २७ गतेको विवरणअनुसार नियमित, आकस्मिक तथा विशेष हेमोडायलासिस सेवा सञ्चालन गरिएको हो। नियमित सेवाअन्तर्गत बिहान र बेलुका ४२–४२ जना तथा लेट इभिनिङ र राति ३६–३६ जना गरी कुल १५६ जनाले सेवा लिएका छन्।
त्यसैगरी ५ जना बिरामीलाई आकस्मिक हेमोडायलासिस सेवा प्रदान गरिएको छ भने सेरोपोजिटिभ बिरामीका लागि १५ वटा विशेष सत्र सञ्चालन गरिएको केन्द्रले जनाएको छ।
इनपेसियन्ट सेवातर्फ ६३ शय्यामध्ये ५२ शय्या भरिएका छन् भने ११ शय्या खाली रहेका छन्। सबैभन्दा बढी बिरामी नेफ्रोलोजी वार्डमा रहेका छन्, जहाँ सबै १२ शय्या भरिएका छन्। प्रि–ट्रान्सप्लान्ट वार्डमा ११, ट्रान्सप्लान्ट आईसीयूमा ५ र पोस्ट ट्रान्सप्लान्ट वार्डमा ८ जना बिरामी भर्ना रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, रेडियोलोजी विभागबाट एकैदिन १७ वटा एक्स–रे सेवा प्रदान गरिएको छ भने प्रयोगशालामा ३१२ वटा परीक्षण सम्पन्न भएका छन्। केन्द्रले सो अवधिमा कुनै पनि वार्डमा मृत्यु नभएको जनाएको छ।