टोखा नगरपालिकाको बजार अनुगमनमा ४६ पसल कारबाही, एक पसल बन्द
काठमाडौं, टोखा — टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनलाई लक्षित गरी सञ्चालन गरेको बजार अनुगमनका क्रममा ४६ वटा पसलमाथि कारबाही गरेको छ।
नगरपालिकाले ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरका ११ वटै वडामा निरन्तर अनुगमन गरेको थियो। अनुगमनमा नगरपालिकाका प्रतिनिधि, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ टोखा तथा उपभोक्ता हित संरक्षण मञ्चको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा धेरै व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको पाइएको टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए। त्यस्तै, पसलहरूमा मूल्यसूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाइको चरम अभाव रहेको तथा न्यूनतम मापदण्डसमेत पालना नगरिएको भेटिएको थियो।
नगरपालिकाका अनुसार ३९ वटा माछा, मासु पसल, दूध डेरी, भेटेरिनरी औषधि पसल, हस्तकला तथा खाद्यान्न पसललाई सचेत गराइएको छ। साथै ६ वटा पसललाई १ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको र एउटा पसल बन्द गरिएको छ।
नगरपालिकाले आगामी दिनमा पनि उपभोक्ता हित र बजार अनुशासन कायम राख्न नियमित अनुगमनलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।