इजरायलमा २ हजार ३ सय केयरगिभरका लागि नेपाली श्रमिक माग
काठमाडौं — वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय नेपाली श्रमिक माग गरिएको जनाएको छ।
विभागका अनुसार नेपाल–इजरायल श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न आवेदन खुलाइएको हो। कुल मागमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषका लागि कोटा छुट्याइएको छ।
छनोट भएका श्रमिकले मासिक करिब ३ लाख ४७ हजार रुपैयाँसम्म तलबसहित ओभरटाइम, बिदा, खाना तथा बसोबास सुविधा पाउनेछन्। आवेदन अनलाइनमार्फत दिन सकिने र छनोट गोलाप्रथाबाट गरिने विभागले जनाएको छ।