प्रधानमन्त्रीसँग संवाद गर्ने सभामुख अर्यालको घोषणा, संसद् विवादमा नयाँ मोड
काठमाडौँ — संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति र सरकारको जवाफदेहिताबारे उठेको विवादबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन्।
बुधबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउन प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने अडान राखेपछि संसद्भित्र तनाव उत्पन्न भएको थियो।
आङ्देम्बेले सरकारले नीति तथा कार्यक्रम टेबल गर्न दिए पनि छलफलका क्रममा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने बताएका थिए। उनले प्रधानमन्त्री नआएसम्म छलफल अघि बढ्न नसक्ने भन्दै अडान दोहोर्याए।
त्यसपछि सभामुख अर्यालले तत्काल रुलिङ गर्नुको सट्टा प्रधानमन्त्रीको अवस्था बुझ्न आवश्यक रहेको बताए। उनले बैठकपछि प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने घोषणा गरे।
“मैले यहाँबाट रुलिङ गर्ने भन्दा एक पटक प्रधानमन्त्रीको अवस्था बुझ्न म संवाद गर्न जाँदैछु,” सभामुख अर्यालले भने, “उहाँसँग भेटेर सबै अवस्था बुझेर मात्र थप निर्णय गरिनेछ।”
सभामुखले संसद् विश्वभरबाट हेरिने संस्था भएकाले जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अर्थमन्त्रीमार्फत प्रतिनिधित्व गराइसकेको अवस्थामा छलफल अघि बढाउन पनि आग्रह गरे।
यस घटनाले प्रतिनिधिसभाभित्र सरकार–प्रतिपक्ष सम्बन्ध थप चर्किएको देखिएको छ।