चार महिनामा २०९ जनाले आमाको नामबाट पाए नागरिकता
काठमाडौं, जेठ ९ — सरकारले बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था लागू गरेपछि पछिल्लो चार महिनामा २०९ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्।
गत २०८२ पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले बाबुको पहिचान खुल्न नसकेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि २०८२ माघ ६ गतेदेखि आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको हो।
यस व्यवस्थाअन्तर्गत नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका तथा बाबुको पहिचान हुन नसकेका व्यक्तिहरूले स्वघोषणासहित आवश्यक कागजात पेश गरी वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार २०८२ माघ ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म देशभरबाट कुल २०९ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन्।
सरकारको यो व्यवस्था नागरिकता प्राप्त गर्न लामो समयदेखि समस्यामा परेका व्यक्तिहरूका लागि राहतका रूपमा हेरिएको छ। साथै यसले नागरिकताको अधिकार सुनिश्चित गर्न तथा राज्यका सेवासुविधामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।