मकवानपुरमा दुई छुट्टाछुट्टै दुर्घटना : एकको मृत्यु, दुई बालक घाइते
हेटौँडा, जेठ ९ — मकवानपुरमा शनिबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई बालक घाइते भएका छन्।
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यता, हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जंगल क्षेत्रमा साइकल दुर्घटना हुँदा दुई बालक घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई करिब ३५ मिटर तल भीरमा खस्दा स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएका हुन्।
घाइते दुवै बालकको उद्धार गरी उपचारका लागि सीएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।