बुद्धिचाल महासंघको साधारण सभा दुई स्थानमा, नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव
काठमाडौं, जेठ ९ — अखिल नेपाल बुद्धिचाल महासंघको साधारण सभा शनिबार दुई फरक स्थानमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षधर सदस्यहरूको बहुमतका आधारमा काठमाडौंमा छुट्टै साधारण सभा आयोजना गरिएको हो।
महासंघभित्र लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको थियो। सदस्यहरूले अध्यक्ष महर्जन र महासचिव लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि संगठनभित्रको विवाद थप चर्किएको हो।
महासंघले तीन वर्षअघि निर्वाचन साधारण सभा गरे पनि त्यसयता नियमित साधारण सभा आयोजना नगरेको आरोप सदस्यहरूले लगाएका छन्। नेपालमा बुद्धिचाल खेलको आफ्नै कार्यालयसमेत नहुँदा संगठनात्मक गतिविधि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो पनि उठ्दै आएको छ।
विगतमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ओलम्पियाडमा सहभागिताका विषयमा समेत महासंघ विवादमा तानिएको थियो। राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत संख्याभन्दा बढी व्यक्तिले ओलम्पियाडमा जाने प्रयास गरेपछि केही खेलाडीले भिसा नपाएको घटना भएको थियो, जसले चेस समुदायमा व्यापक असन्तुष्टि पैदा गरेको थियो।
त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने स्पष्ट मापदण्ड र कार्यविधि नहुँदा महासंघको सचिवालयमा रहेका केही व्यक्तिले मनोमानी गरेको आरोप खेलाडीहरूले लगाउँदै आएका छन्। यही असन्तुष्टिका कारण विगतमा खेलाडी तहबाट समेत विरोध र विद्रोहका स्वर उठेका थिए।
महासंघभित्र देखिएको पछिल्लो विवाद र दुई स्थानमा सम्पन्न साधारण सभाले नेपाली बुद्धिचाल खेलको नेतृत्व र व्यवस्थापनमाथि थप प्रश्न खडा गरेको छ।