सगरमाथा आरोहण मार्ग यस वर्षको वसन्त ऋतुका लागि खुला
काठमाडौं — यस वर्षको वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण मार्ग औपचारिक रूपमा खुला गरिएको छ। आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग सञ्चालनमा आएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक सङ्घ नेपाललाई जिम्मेवारी दिइएको थियो।
पर्यटन विभागले जानकारी दिएअनुसार बुधबार बिहान १०:२५ बजे आधारशिविरदेखि चुचुरोसम्म डोरी टाँगेर आरोहण मार्ग निर्माण सम्पन्न गरिएको हो।
आरोहण मार्ग निर्माणमा आधारशिविरदेखि क्याम्प–२ सम्म ८ जना आइसफल डाक्टर तथा क्याम्प–२ देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न थिए।
विभागले सफल रूपमा काम सम्पन्न गर्ने पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूलाई धन्यवाद व्यक्त गरेको छ।