काठमाडौं उपत्यकामा २४ घण्टामा १,९६२ सवारी चालक कारबाहीमा
काठमाडौं — काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९६२ जना सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उक्त कारबाहीबाट आठ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ जना कारबाहीमा परेका छन्। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने १४७ जना, रातो बत्ती उल्लङ्घन गर्ने २११ जना तथा तीव्र गतिमा सवारी चलाउने १९७ जना चालकलाई पनि कारबाही गरिएको छ।
यस्तै, लेन मिच्ने ५३, फुटपाथ अतिक्रमण गर्ने ८८, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने ११६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी ले ट्राफिक नियम उल्लङ्घन र दुर्घटना न्यूनीकरणका लागि नियमित चेकिङ तथा विशेष अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार कारबाहीको उद्देश्य राजस्व सङ्कलनभन्दा पनि सुरक्षित यात्रा सुनिश्चित गर्नु र नागरिकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउनु हो।