नगरकोट र बनेपामा सारिएका सुकुम्बासीहरू: खाने, बस्ने र रोजगारीमा समस्या
काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीहरूलाई नगरकोट र बनेपामा स्थानान्तरण गरेपछि उनीहरूको दैनिक जीवन थप कठिन बनेको छ। यसअघि बालाजु, माछापोखरी लगायत क्षेत्रमा अस्थायी रूपमा लजमा राखिएका उनीहरूलाई एकाएक नगरकोट र बनेपातर्फ सारिएको हो।
नगरकोटस्थित खानेपानी तालिम केन्द्र र बनेपास्थित रेडक्रस भवनमा हाल दर्जनौँ परिवारलाई राखिएको छ। तर, त्यहाँ आधारभूत सुविधा पर्याप्त नभएको उनीहरू बताउँछन्।
सिरहा लहानका डकर्मी महेन्द्र सहनी थापाथली क्षेत्रको सुकुम्बासी बस्तीबाट विस्थापित भएपछि १२ दिन माछापोखरीको लजमा बसेका थिए। पछि उनलाई बनेपामा सारिएको हो। उनका अनुसार हाल बनेपामा खाने, पानी र दैनिक आवश्यकताको टुंगो छैन।
“यहाँ आएदेखि खानपिन नियमित छैन, पानी पनि किनेर खानुपरेको छ,” सहनीले बताएका छन्। उनका अनुसार काठमाडौंमा दैनिक ज्यालादारी काम गर्न जाने सम्भावना पनि टाढा भएकाले आम्दानी ठप्प भएको छ।
सहनीसहित करिब १२४ जनालाई बनेपाको रेडक्रस भवनमा राखिएको छ भने पुरुष र महिलालाई छुट्टाछुट्टै हलमा बसोबास गराइएको छ। तर, नियमित खाना र पानीको अभाव रहेको उनीहरूको गुनासो छ।
यसअघि लजमा राखिएका बेला होटल एसोसिएसन लगायत संस्थाको सहयोगमा खाना, चिया र खाजाको व्यवस्था गरिएको थियो। तर, स्थानान्तरणपछि त्यो सुविधा हटेको छ।
जिल्ला प्रहरी परिसरका अनुसार काठमाडौंका नदी किनारका अव्यवस्थित बसोबासीमध्ये सयौँलाई विभिन्न स्थानमा सारिएको छ। केहीलाई होटलमा राखिएको थियो भने केहीलाई अन्यत्र व्यवस्थापन गरिएको छ। केही भने आफन्तकहाँ गएका छन् वा सम्पर्कविहीन भएका छन्।
अचानक गरिएको स्थानान्तरणपछि रोजगारी, आवतजावत र आधारभूत सुविधाको अभावले प्रभावित परिवारहरू अझै अनिश्चित अवस्थामा रहेका छन्।