कर्मचारी आचारसंहिता कडाइका साथ लागू गर्न सरकारको निर्देशन
काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निर्देशन दिएको छ।
मन्त्रालयकी सचिव चन्द्रकला पौडेलद्वारा जारी पत्रमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारका एक सय कार्यसूची’ अन्तर्गत बुँदा नं. १३ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिइएको छ।
उक्त बुँदामा विद्यमान भ्रष्टाचार, ढिलासुस्ती र सेवाग्राहीप्रति हुने असहज व्यवहारजस्ता प्रवृत्तिको अन्त्य गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउने लक्ष्य राखिएको छ। साथै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्नुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० तथा निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ लगायत प्रचलित कानुनअनुसार स्वीकृत आचारसंहिताको पूर्ण पालना गराउन र नियमित अनुगमन गर्न समेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।